काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ ।
पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय आज सार्वजनिक गर्दै यस्तो नीति लिने जनाएको हो। साथै विप्लव नेतृत्वको पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ ।
पार्टीले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ। आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा महासचिव विप्लवले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार रहेको भन्दै नेपाल सबै विषयको निराशावादी गोल चक्करबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।