काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद र पासपोर्ट प्रकरणले रास्वपालाई सरकारबाट बाहिर पु¥याएको छ । अल्पआयूमै सत्ता बाहिर आएको रास्वपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री बन्ने हुटहुटी बोकेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते गरेको सहमतिलाई नमानेपछि रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारले नियमित गर्ने कामहरुमा बाधा अड्चन आउन थालेपछि बाहिरिनु परेको सभापति लामिछानेले बताउनुभएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका लामिछानेले आफूलाई मुलुकका केही सञ्चारमाध्यमले तथानाम लेखेर खोइरो खनेको समेत आरोप लगाउनुभएको छ । उहाँले मूलधारका मिडियामाथि गलत धन्दा गरिरहेको आरोप लगाउनुभएको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।
जसअनुसार रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बाहिरिनुभएको छ । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिनुभएको छ ।प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो ।
अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ। रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।यसैबीच, लामिछाने सरकारबाट बाहिरिए पनि समर्थन कायम रहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकी विषयमा भेटेरै सल्लाह गर्ने बताउनुभएको छ ।
आजको संसद बैठकमा बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेविरुद्ध षडयन्त्र भएको बताउनुभएको थियो । मुद्धा हाल्ने व्यक्ति यो विषयसँग कहीँकतै पनि नजोडिएको भन्दै उहाँले न्याय कसले पायो भन्नेमा आफू अनविज्ञ रहेको बताउनुभयो ।
लामिछानेको आजको आक्रोशपूर्ण शैलीले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । मुलुकमा मिडियाका सम्पादकहरुमाथि खनिएका लामिछानेविरुद्ध ती सञ्चारमाध्यमहरुले स्पष्टिकरण दिइरहेका छन् ।