काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाउनुभएको छ ।
यो फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उहाँको भनाइ छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताउनुभयो। तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उहाँको जिकिर थियो ।
उजुरीकर्तालाई के मर्का पर्यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताउनुभयो। असम्बन्धित व्यक्तिले निवेदन दिएको उहाँको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताउनुभयो ।