काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ। शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गर्नुभयो।
उहाँले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक,विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताउनुभयो।विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताउनुभयो।उहाँले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताउनुभयो ।