काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले आज जनकपुरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रूपमा लागि परेको समेत स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो,‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ। त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ। भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो। मित्रताको साथमा विकास पनि भारतले जोड दिएको छ। किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो।’
राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।