काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आज लेखे, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’ यो भनाइमा लामिछानेको जति आक्रोश छ उतिनै हठ पनि । नागरिकता विवाद आइसकेपछि सम्पूर्ण पद, विरासत एकैपटक भत्किँदा आक्रोश पलाउनु स्वभाविक पनि हो ।
नागरिकतामा कैफियत देखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएसँगै सर्वोच्चले पनि सोही रिट सदर गरिदिँदा लामिछानेको सांसद पद गुमेको छ। गृहमन्त्री पद गुमेसँगै पुनः आफू सोही पदमा पुनर्वहाली हुन पाउनुपर्ने अडान लिएका लामिछानेका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि तिक्तता शुरु भएको छ। एमाले अध्यक्ष ओलीले बिहीबार विराटनगरमा बौल्दै गृहमन्त्री रास्वपाले नै पाउने जिकिर गर्नुभएको छ ।
ओली मात्रै होइन एमाले महासचिव शंकर पोखरेल पनि रवि लामिछानेको पक्षमा उभिएका छन्। पुस १० गते भएको सत्ता समीकरण अनुसार रास्वपालाई नै गृहमन्त्री दिनेगरी सहमति भएको थियो । जसअनुसार पुस ११ गते लामिछाने गृहमन्त्रीमा नियुक्त भएका थिए ।
अहिले आएर प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई गृहमन्त्रालय नदिने छनक देखाएका छन् । आफू प्रधानमन्त्री बन्नका लागि अर्थमन्त्रालय, गृह, सभामुख, राष्ट्रपति समेत छोडेका प्रचण्ड अहिले भने बदलिएका छन् । उनलाई कांग्रेसले पृष्ठपोषण गरिरहेको चर्चा हुन थालेको छ । एमालेले राष्ट्रपतिमा आफ्नो बलियो दाबेदारी गरिरहँदा प्रचण्ड राष्ट्रिय सहमति भन्दै हिडेका छन् ।
आखिर के हो राष्ट्रिय सहमति ? राष्ट्रिय सहमतिमा कसलाई राष्ट्रपति बनाउन चाहान्छन् प्रचण्ड ? यो भने अझै खुलिसकेको छैन। गृहमन्त्रालयमा आनाकानी, राष्ट्रपतिमा स्पष्ट धारणा बनाउन नसक्नुले प्रचण्डका लागि आफैमाथि चुनौति थपिँदै गएको छ । नेपाली कांग्रेसले पुस २६ गते दिएको विश्वासको मत प्रचण्डका लागि खेल्ने बलियो माध्यम बनेको विश्लेषण हुन थालेको छ ।
रास्वपाले गृहमन्त्री पुनः प्राप्तिका लागि निकै ठूलो तिगडम गरिरहेको छ । सभापति लामिछाने कहिले बालकोट त कहिले बालुवाटारको दौडधुपमा रहेका छन् । यतिमात्र होइन गृह नपाए सरकारको समर्थन फिर्ता लिने बताएको रास्वपा अहिले चुपचाप बनेको छ । लामिछानेको यो कुदाइले उनको लोकप्रियता मात्रै घटेको छैन, सञ्जालमा आलोचना शुरु भएको छ ।