काठमाडौं ।संघीय संसदको आजको बैठकमा रोचक दृष्य देखियो । सरकारले ल्याएको न्युनतम साझा कार्यक्रममा बहस हुनुको साँटो धर्म र व्यवस्थाप्रति सांसदहरुको जुहारी चल्यो । प्रायः सांसदहरुले आआफ्ना गाउँठाउँका मुद्धा उठाउँदै गर्दा जब एमालेका सांसद रघुजी पन्तको बोल्ने पालो आयो उहाँले धर्म भन्दा ठूलो जीवन भएको बताउँदै कसैलाई धार्मिक आस्थाले बाँध्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले हिन्दु धर्मभित्र धेरै विषय सच्याउनुपर्ने दाबी गर्दै सबै जातजातीलाई आफू अनुकुल हुने गरी प्रयोग गर्न दिनुपर्ने बताउनुभयो । यद्यपि रघुजी पन्तले भनेजस्तो हिन्दु धर्ममा कुनैपनि जातजातिलाई उचनिचको भावनाले हेरिदैन ।
संसदमा बोल्ने क्रममै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले व्यवस्था विरोधीहरु यसै वरपर रहेको भन्दै सचेत गराउनुभयो । यो व्यवस्था समस्याको कारण नभइ व्यवस्थाले खोजेको अवस्था र पात्रहरुको सोचमा दबलाव नआउँदा सकस भएको बस्नेतको भनाइ थियो ।
सांसद पन्त र बस्नेतले राखेको विषयमा आपत्ति जनाउँदै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संविधान बनाउने बेलामा संघीयता चाहिन्छ कि चाहिँदैन ? धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन भनेर जनताबाट संकलन गरिएको जनमत आज किन सार्वजनिक गरिएन भन्दै प्रश्न गर्नुभयो ।
उहाँले नेपालको संविधानको धारा २७४ नम्बरमा नेपालको केही विशेष कुराहरू परिवर्तन गर्न नसकिने उल्लेख गरेको बताउँदै गणतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने कुरा यही संसदबाट निर्णय गर्न सकिने बताउनुभयो । उहाँले सांसद पन्तले हिन्दु धर्मको कुरा गर्दै भारतको नाम लिएको बताउँदै राम सीता नेपाली भूमिकै भएको, ऋषिमुनीहरुले बेद नेपालमै रचना गरेको टिप्पणी गर्नुभयो ।
शाहीले संसदमा आस्तिक र नास्तिकको कुरा ल्याउन आवश्यक नभएको भन्दै उनीहरूको कुरा फिर्ता लिन आग्रह गर्दै नियमापत्ति प्रकट गनुभएको थियो । सोही क्रममा राप्रपाका सांसद धवलशम्शेर राणाले हिन्दु राष्ट्रसहितको राजतन्त्र ल्याउनका निम्ति जनताले मत दिएको भन्दै आफूहरुलाई नहेप्न चेतावनी दिनुभयो ।
आजको संसदको दृष्यले हिजो राजसंस्था फाल्नका निम्ति १० वर्षे सशस्त्रद्वन्द्वको नेतृत्व गरी १७ हजार नागरिकको बलिदान दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकताको प्रश्नले घेरिरहेको थियो । आज उनले नै नेतृत्व गरेको सरकारमा राप्रपाले उपस्थिति जनाएको छ । आज लोकतन्त्रसहितको गणतन्त्रात्मक संघीय साशन प्रणालीलाई बलियो बनाउन लागिपरेकाहरु यहीँ व्यवस्था फ्याँक्न उद्दत दलसँग अंकमाल गर्दै टाँसिएको दृष्यले राजनीति स्वार्थ वरिपरि जेलिएको भान हुन्थ्यो ।