काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको हो । नेपालको संविधान अनुसार बहालवाला राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने प्रावधान रहेको छ ।
जसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते नियुक्त हुनुभएको थियो । त्यो मिति हेर्दा माघ २९ गतेसम्म नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हुन्छ । यद्यपि, निर्वाचन आयोगको क्षेत्राधिकारभित्र रहेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार आगामी फागुन २५ गते निर्वाचन हुनेछ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै निर्वाचनको तालिकाबारे सबैलाई जानकारी दिनुभएको छ ।
राष्ट्रपतिको निर्वाचन विषयलाई लिएर राजनीतिक दलहरुबीच पनि केही समय अघि मतभिन्नता देखिएको थियो । संविधानमा बाझिएको विषयलाई हल गरेर अगाडि बढ्नुपर्ने केही नेताहरुको धारणा थियो । यतिबेला बनेको सत्ता समीकरण अनुसार नेकपा एमालेलाई राष्ट्रपति र सभामुख, माओवादी केन्द्रलाई प्रधानमन्त्री दिइने मौखिक सहमति रहेको थियो ।
तर, माओवादी केन्द्रको बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको छ । यसको अर्थ माओवादी केन्द्र राष्ट्रपति एमालेलाई दिन लचिलो नभएको बुझिन्छ । राष्ट्रपतिमा सहमति नै बलियो आधार रहेको माओवादी स्थायी कमिटी सदस्य कमला रोकाको भनाइ छ ।
यता एमाले भने कुनौ पनि हालतमा राष्ट्रपति आफूले पाउने अडानमा रहेको छ । पुस १० गते भएको सहमतिलाई नै कार्यान्वयनमा ल्याउनुपर्ने उसको धारणा रहेको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सहमतिलाई नै कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । नयाँ राष्ट्रपतिमा कांग्रेस पनि लालायित भएकोले रोचक प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रपतिको निर्वाचनमा प्रदेशसभा सदस्य, राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुले मत दिन पाउने छन् ।