काठमाडौं ।नेपाल सरकारले बायोमेट्रिक पद्धतीद्वारा नागरिकको वैयक्तिक र जैविक विवरण राख्नका लागि महत्वका साथ अघि बढाएको राष्ट्रिय परिचयपत्र वितरण अभियान प्रभावकारी बन्दै गएको छ । राष्ट्रिय परिचयपत्र लिइसकेपछि धेरै कागजातहरु बोक्नु नपर्ने र सुरक्षित हुने भएकोले नागरिकहरु पनि यो अभियानबाट प्रभावित भएका छन् । शुरुमा बुझाउन केही समस्या भएपनि हाल आएर यसको उपयोगिता बढ्दै गएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्र अभियान उत्साहका साथ अघि बढेको छ । नागरिकमा जनचेतनाको अभिवृद्धि भएसँगै यो अभियानले थप तीब्रता पाएको उहाँको भनाइ छ । राहदानी लिँदा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएकोमा आगामी दिनमा यसलाई थप फराकिलो बनाइनुपर्ने उहाँको धारणा छ ।
निर्देशक पौडेलले हालसम्म १ करोड ७ लाख २९ हजार २ सय ५६ जनाले राष्ट्रिय परिचयपत्र लिइसकेको जानकारी दिनुभयो । पाँचथरबाट शुरु भएको यो अभियान हालसम्म ४५ जिल्लामा सम्पन्न भइसकेको छ भने १६ जिल्लामा सञ्चालनमा रहेको छ ।
कुनै पनि मुलुकले आफ्नो देशका नागरिकको वैयक्तिक र जैविक विवरण राख्दा राज्यबाट प्रवाह गर्ने सेवा सुविधा प्रदान गर्न सहज हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक एवं सूचना अधिकारी लक्ष्मण ढकालले बताउनुभएको छ ।
व्यक्तिगत घटना दर्ताभित्र जन्म, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र मृत्यु दर्ता पर्दछन् । पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्ने वडाको संख्या ६ हजार ५ सय १७ रहेको उहाँले जानकारी दिनुभयो । निर्देशक ढकालले सामाजिक सुरक्षा कार्यक्रम पनि प्रभावकारिताका साथ अघि बढेको बताउनुभएको छ ।
यता, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम महत्वका साथ अघि बढेको छ । सबै जिल्लामा सहज रुपमा परिचयपत्र वितरण भएको उहाँको भनाइ छ । करिब दुई करोड जनसंख्यालाई परिचयपत्र वितरण गर्नुपर्ने हुँदा भीडभाड भएपनि बिस्तारै व्यवस्थापन हुँदै गएको भट्टराईले बताउनुभयो ।
राष्ट्रिय परिचय पत्र, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले सफल पार्नु हरेक नागरिकको कर्तव्य हो । राज्यबाट प्रवाह हुने सेवा सुविधालाई हरेक नागरिकसम्म सहज रुपमा पु¥याउनका लागि यी विषयले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।