काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राख्नुभएको छ। नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएको एकिकृत समाजवादीले नेता गौतमलाई पनि पार्टीमा तान्न खोजेको छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार वामदेवले राखेका सर्तहरुमा पार्टीभित्र छलफल गर्न सकिने अध्यक्ष नेपालले बताई सक्नुभएको छ। तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने प्रतिक्रिया दिनुभएको छ ।
गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन्। जसमा पहिलो, जनताको बहुदलीय जनवाद जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ। एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ, भने एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद (लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।
गौतमको दोस्रो सर्तमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भएकोले यो विषयमा पनि छलफल गर्न सकिने नेताहरुले बताएका छन्। तेस्रो सर्तमा समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने गौतमको भनाई छ ।
यस्तै गौतमका अन्य सर्तहरु भने आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धताहरु छन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएर नेतृत्व गरिरहनु भएको छ ।