काठमाडौं।सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकताविरुद्ध परेको रिट सदर गरेको छ ।आज संवैधानिक इजलासले अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता प्रक्रिया पुरा गरेर सक्रिय नगराएको भन्दै उनको विपक्षमा फैसला गरेको हो । उनको नागरिकता निष्क्रिय रहेको र त्यसैलाई प्रयोग गरेर उनले पार्टी दर्तादेखि संसद्को उम्मेदवार बनेर विजयी समेत भएका थिए ।
मतदान अगाडि नै रविको नागरिकताबारे निर्वाचन कार्यालयमा उजुरी परे पनि कार्यालयले प्रक्रिया अगाडि बढाउँदा मतदान र मत परिणाम समेत सार्वजनिक भएको भन्दै उजुरीलाई तामेलीमा राखेको थियो । लामिछाने अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता सक्रिय नै नगराई निस्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी दर्तादेखि उम्मेदवारी दर्ता गरेका थिए ।
लामिछाने सन् २०१४ मा अमेरिकी नागरिक बनेर नेपाल आएको र सन् २०१५ मा नेपाली राहदानी समेत बनाएको, श्रम स्विकृती नलिई काम गरिरहेको खुलेसँगै कारबाहीबाट जोगिन सन् २०१८ मा अमेरिकी नागरिकता त्यागे पनि अमेरिकी नागरिक बनेपछि निस्क्रिय बनेको नेपाली नागरिकता सक्रिय गराउने प्रक्रिया नै शुरु गरेका थिएनन् ।
उनको नागरिकताबारे गम्भिर प्रश्न उठ्दा समेत निर्वाचन आयोगको नेतृत्व भने गम्भिर देखिएन । गृह मन्त्रालयमा उजुरी प¥यो । उनलाई सांसदको रुपमा सपथ नखुवाउन संसद सचिवालयमा निवेदन दर्ता भएपनि उनले सपथ खाए । लामिछानेले संसद्को रूपमा शपथ खाएपछि उनको नागरिकता र राहदानीबारे प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको थियो । त्यही रिटमा आज फैसला आएको हो ।
सर्वोच्चको फैसलाको स्वागत गर्दै लामिछानेले अनागरिकले के बोल्ने थाहा नभएको बताएका छन् । लमिछानेको नागरिकता विवादबारे सर्वोच्चमा रिट हालेका रविराज बसौलाले यो फैसलाले अरुलाई पनि सचेत गराएको दाबी गर्नुभयो ।
रविको नागरिकता निष्क्रिय रहेको अदालतको ठहरसँगै उनी गैर नेपाली नागरिक बनेका छन् । योसँगै उनको सांसद पद र पार्टीको सभापति पद समेत खारेज भएको छ । यता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो नागरिकता सम्बन्धि मात्रै फैसला भएको र त्यो बीचमा उनले कानून विपरित गरेको क्रियाकलापहरु छानबिनमा आउन सक्ने बताउनुभयो ।
लामिछानेले आगामी दिनमा पुनः नेपालको नागरिकता ऐनमा टेकेर नयाँ नागरिकता लिन सक्नेछन् । त्यसपछि मात्रै उनी नेपाली नागरिक बन्नेछन् ।