काठमाडौं।सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ। सर्वोच्चमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा तैनाथी बढाइएको हो ।
मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ। यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ। यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन्।
फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी उपलब्ध गराइएको छैन। सवोच्च अदालतको संवैधानिक इजलासमा गत बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो ।