Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शहीद सप्ताहअन्तर्गत आज शहिद माथेमाको सम्झना गरियो

शहीद सप्ताहअन्तर्गत आज शहिद माथेमाको सम्झना गरियो

  • शुक्रवार, माघ १३ २०७९

  • 372
    SHARES

  • शहीद सप्ताहअन्तर्गत आज शहिद माथेमाको सम्झना गरियो

    काठमाडौं।
    शहीद सप्ताहअन्तर्गत आज शहीद धर्मभक्त माथेमाको सम्झनामा स्मृतिसभा गरिएको छ । माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको हो । काठमाडौँ महानगरपालिका मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो ।

    शहीद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाका उपप्रमुख सुनिता डङ्गोलले, प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। स्मृतिसभामा कामपा–७ का अध्यक्ष बिमलकुमार होडाले शहीदहरूले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो। शहीदहरूले नागरिकको स्वतन्त्रताबाहेक अरू केही पनि अपेक्षा नगरेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बताउनुभयो।

    विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, जन्मिनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा ३१ वर्षको युवा अवस्थामा विसं १९९७ माघ १३ गते, काठमाडौँको सिफल उकालोमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते गरेको निर्णयमा शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय थियो ।

    निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पुर्याउने क्रममा अमरत्व प्राप्त गर्ने शहीदको सम्झनामा कामपाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

    सप्ताहव्यपी कार्यक्रमअन्तर्गत यही माघ १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित शहीद पार्कमा पुगी ज्ञातअज्ञात सहितको सम्झनामा स्मृतिसभा गरिनेछ ।


    शुक्रवार, माघ १३ २०७९०२:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij