काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले राष्ट्रपति पाए राजनीतिमा सन्तुलन आउने बताउनुभएको छ। कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राख्नुभयो ।
संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्ने बताउनुभयो। उहाँले पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो'खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो। किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ। म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ।'
थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गर्नुभयो। यस्तै उहाँले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने बताउदै अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको बताउनुभयो ।