काठमाडौं । नेकपा एकीकृत समाजवादीले भरखरै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिव बनाउने भएको छ । हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।
यसको औपचारिक निर्णय २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकले गर्ने भएको छ । चुनावअघि एमाले त्यागेका भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो।
यस्तै एकीकृत समाजवादीले नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरेको छ। गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहनु भएको छ ।
गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाउनुभएको छ ।आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिएका छन् ।
गौतम पार्टीमा आए बरिष्ठ उपाध्यक्ष पद दिने एकीकृत समाजवादीको तयारी छ । गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।