काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।
निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग बन्द भएका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराउनुभयो ।
महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताउनुभयो । निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बिस प्रतिशत मोबिलाइजेशन पेस्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताउनुभयो ।
व्यवसायीहरूको ठुलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण बताउनुभयो।
महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री लिङ्देनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।