काठमाडौं ।प्रतिनिधिसभाले हिजो सभामुख पाएको छ भने उपसभामुखका लागि भोलि निर्वाचन हँुदैछ । सभामुखको चयन पछि अब भने देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी सुरू भएको छ । सम्भवतः यही माघ अन्तिममा हुने राष्ट्रपतिको निर्वाचनका लागि अहिलेदेखि नै राजनीति तातेको हो ।
प्रमुख दलहरू राष्ट्रपति कसलाई बनाउने भन्नेबारे गृहकार्यमा जुटेका छन् । यस विषयमा सत्तासाझेदार दलबीच एक किसिमको सहमति भइसकेको छ भने सरकार बाहिरका दलहरूले पनि छुट्टै छलफल चलाएका छन् । राष्ट्रपति आफ्नो पोल्टामा पार्न सकिन्छ कि भन्ने गृहकार्यमा कांगे्रस लागिपरेको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा सबैलाई स्वीकार्य हुने व्यक्ति अघि सार्नुपर्छ भनेर लबिङमा लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले भाग खोज्ने अड्कलबाजी भइरहेको छ । एमाले र माओवादीबीच राष्ट्रपतिबारे सहमति भएको भनिएको छ । तर यता प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमा जानुपर्छ पनि भनिरहनु भएको छ ।
सरकारका लागि बहुमत जुटाउने बेलामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । सो छलफलमा प्रधानमन्त्रीमा माओवादी र एमालेले आलोपालो गर्ने, सभामुखमा पनि दुई दलबीच आलोपालोको सहमति छ । त्यस्तै, राष्ट्रपति एमालेले, उपराष्ट्रपति माओवादीले लिने सहमति छ । एमालेले राष्ट्रपतिमा कुनैपनि हालतमा एमालेकै उम्मेदवारमा सहमति खोजिनुपर्ने अडान लिएको छ । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताउनुभएको छ । सत्ता साझेदार दलहरूबीच भएको सहमति पनि त्यही भएको उहाँको दाबी छ ।
यतिवेला प्रधानमन्त्री प्रचण्डले एमालेसँग गरेको सहमतिबाट पछि हटेर कांग्रेसलाई साथ दिनुहुने त होइन भन्ने आशंका एमाले भित्र रहेको छ । अर्कोतिर कांग्रेस नेतृत्व पनि राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा माओवादीले आफूहरूलाई साथ दिने विश्वासमा छ ।
प्रधानमन्त्री पद प्रचण्डलाई दिएर सत्ताका सबै शक्ति आफ्नो हातमा पार्नुभएका ओलीले आफैं शासन गर्न खोजेको विश्लेषण कांग्रेसको छ । महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ओलीले पिंजडामा राख्न खोजेको टिप्पणी हिजोको संसद् बैठकमा गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड अहिले ओलीको चेपुवामा हुनुहुन्छ । नेपाली कांग्रेसका धेरैजसो नेताले राष्ट्रपतिको उम्मेदवार आफूहरूले उठाएर जित्ने दाबी गरिरहेका छन् । एमालेले प्रचण्डलाई गरेको समर्थन केहिछिनको रमाइलो हो पनि भन्ने गरेका छन् । कांग्रेस नेता शंकर भण्डारी राष्ट्रपति आफूहरूको हुने दाबी गर्नुहुन्छ ।
२०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै दुवै पदका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि मतदाता (निर्वाचक मण्डल) भनेका संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य ३ सय ३४ र प्रदेशसभाका सदस्य ५ सय ५० जना हुन् । दुवैतर्फका गरी ८८४ मतदाता रहने छन् ।