काठमाडौं । सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको निर्वाचनमा उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको थियो ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १ सय ६७ मत प¥यो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २ सय ६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत प¥यो ।
पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उहाँलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नुभएको छ । निर्वाचित भइसकेपछि बोल्दै सभामुख घिमिरेले विगतबाट पाठ सिक्दै आगत राम्रो बनाउने बाचा गर्नुभयो ।
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख बन्नुभएको छ ।
झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गर्नुभएको हो । घिमिरे २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिनुभएको हो ।
घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। संसदीय अनुभवमा उहाँको त्यो पहिलो यात्रा थियो। त्यसपछि पनि घिमिरे पुनः पार्टी कै काममा फर्किनुभएको थियो ।
२०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नुभयो। यता, संसद बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेकै कारण गलत समीकरणबाट सरकार बनेको दाबी गर्नुभयो ।
यसैबीच, घिमिरे निर्वाचित भएपछि बोल्दै पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सभामुख सबैको साझा भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।२०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख हुनुहुन्थ्यो ।
२०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख हुनुभएको थियो ।