काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय विधि र मान्यताबाहिर नजाने बताउनुभएको छ । आज संसद बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले अपराध नियन्त्रण गर्न गृहमन्त्रालयले जुन प्रतिवद्धता गरेको छ त्यसबाट टसमस नहल्लिने बताउनुभएको हो ।
आज जारी संसद बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताउनुभयो ।
संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग्नुभएको थियो । उहाँको प्रश्नलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गृहमन्त्रालय र आफू विधिको शासन कायम गर्न नचुक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
विधि स्थापीत गरेर कर्मचारीको सरुवा बढुवामा पनि विधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृहमन्त्रालय टसमस नहल्लिएको जिकिर गर्दै गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअघि बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गर्नुभएको थियो। फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी भएका थिए।