काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ ।
बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उहाँले यस्तो बताउनुभएको हो ।
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गर्नुभएको हो । ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको जनाइएको छ।
यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटकपटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुग्नुभएको हो ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।