काठमाडौं। गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी छ ।
सभामुख भने यसअघि नै माओवादी केन्द्रका कृष्ण धिताल चयन भइसक्नुभएको छ । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ र उनीहरुबीचको भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे छन् । तर, माओवादीका सांसद कृष्ण धिताल सभामुख भएकाले मत हाल्न पाउनुहुने छैन ।
सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत दिनुभएको थियो । आज प्रदेश सभा बैठकले हिजो पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।