काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देश प्रहरी प्रमुखहरूलाई पीडितको पक्षमा खम्बा भएर उभिन निर्देशन दिनुभएको छ । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक डीआईजीहरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनुभएको हो ।
२८ पुसमा भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डीआईजीहरुलाई आज निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयो ।
विगतमा सरुवालाई सजायको रुपमा लिने गरेको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उनले निर्देशन दिनुभयो ।
उहाँले कसैको प्रभाव वा दवाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहन डीआईजीहरूलाई आग्रह गर्नुभयो। प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव राखेर काम गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।