पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रीपरिषद् विस्तारको गृहकार्य थाल्नुभएको छ ।
पार्टीको संगठन विभाग प्रमुख समेत रहेका मुख्यमन्त्री अधिकारीले केन्द्रीय नेताहरुको सुझाव र प्रदेशस्तरीय नेताहरुको सल्लाहमा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो।
उहाँले गठवन्धन सरकारका ११ मन्त्री मध्ये आफ्नो पार्टीबाट चारदेखि छ जनासम्मलाई मन्त्री बनाउन पाउने भएकाले बरिष्ठता, क्षमता र योगदानका आधारमा मन्त्री बनाउनेहरुको सूचि तयार गरिरहेको मुख्यमन्त्रीको सचिवालय श्रोतले जनाएको छ ।
गण्डकी प्रदेशमा एमालेबाट मुख्यमन्त्री अधिकारीपछि बरिष्ठता र योग्यताका आधारमा बाग्लुडका लिल बहादुर थापामगर मन्त्री बन्ने सबैभन्दा बढी संभावना रहेको छ । उहाँ मन्त्री बन्ने पक्काजस्तै भएको चर्चा पोखरामा छ ।
गण्डकी प्रदेशबाट एमालेको पोलिट व्युरोमा अहिले थापा मात्रै रहेकोले बरिष्ठताका आधारमा अन्य सांसदहरु भन्दा थापा नै अगाडि हुनुहुन्छ । २०३६ सालदेखि राजनीतिमा सक्रिय थापा एमालेमा संकटका बेला पनि राम्रोसँग खुट्टा टेक्ने नेताका रुपमा चिनिनुहुन्छ ।
उहाँले पार्टी विभाजित भएका बेला गाउँ गाउँमा गएर कार्यकर्तालाई विचल्लीत नहुन प्रेरित गर्नुभएको थियो । स्पष्ट वक्ता र काममा खरो भएकाले उहाँ अध्यक्ष केपी शर्मा ओलीले पनि मन पराउने पात्र मानिनुहुन्छ ।
त्यसैगरी अनुभवको हिसावले पनि २०५४ देखि २०५९ सम्म बाग्लुडको जिविस सभापति भएर राम्रो काम गरेको छवि बनाएका थापाले मन्त्रीको जिम्मेवारी पाएमा प्रदेश सरकारको छवि पनि राम्रो बनाउन सक्ने पार्टीका नेताहरुको बुझाई छ ।
क्षमता, अनुभव र बरिष्ठताका आधारमा थापालाई मन्त्री बनाउनु पर्ने सुझाव एमालेका धेरै कार्यकर्ताहरुले दिने गरेका छन् । भौगोलिक प्रतिनिधित्वका आधारमा पनि तत्कालिन धौलागिरीबाट समेट्नु पर्दा थापालाई मन्त्री बनाउनु पर्ने देखिएको छ ।
एमालेबाट मन्त्री बन्नेमा कास्कीका गणेशमान गुरुङको नाम पनि अग्रस्थानमा रहेको छ । उहाँलाई पनि योगदान, अनुभव र भौगोलिक तथा जातिय प्रतिनिधित्वको हिसावले मन्त्री बनाउनु पर्ने दवाव मुख्यमन्त्री अधिकारीलाई परेको छ ।
त्यसैगरी प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्याललाई पनि मन्त्री बनाउन केन्द्रीय नेताहरुले जोड गरेका छन् । जेष्ठ सदस्यको हैसियतले अहिले प्रदेश सभाको अध्यक्षता गरिरहनु भएका बस्याललाई सभामुख नबनाएपछि मन्त्री बनाउनु पर्ने सर्त राखिएको छ । पर्वतका सबै सिटमा एमालेले जित हासिल गरेकाले प्रदेशको मन्त्रीपरिषद्मा जिल्लाको प्रतिधित्व हुनुपर्ने माग जिल्लाबासीले पनि गरेका छन् ।
गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुन लागेकोले मुख्यमन्त्री अधिकारीले भोली मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको जनाइएको छ ।
मुख्यमन्त्री अधिकारीले अहिलेको मन्त्रीपरिषद्लाई घटाएर नौ सदस्यीय बनाउने तयारी गर्नु भएकाले गण्डकी प्रदेश सरकारमा एमालेले चार मन्त्री लिने र माओवादीलाई तीन तथा राप्रपालाई एक मन्त्री दिनेगरी बाँडफाँड गरिएको छ ।