काठमाडौं। स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै परिषद्ले यस्तो माग गरेको हो।
लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो ।
परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरंश पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको छ ।
स्ववियु चुनावको कार्यतालिका जारी अगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ । स्ववियु निर्वाचनको कार्यतालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले सम्पन्न गर्न पनि परिषद्ले त्रिविलाई आग्रह गरेको छ ।
त्रिवि शैक्षिक क्यालेन्डरमा २ वर्षमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर,२०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन ।