काठमाडौं । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै सरकारमा गएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ,'नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला। तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौ यो हाम्रो लागि ठूलो कुरा हो। हामी सँधै खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो। तर हामीले जनमतलाई कदर गरेका हौँ। जनताले हामीलाई दिएको यो आशाको मत हो। यो मतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ।'
उहाँले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताउनुभयो। उहाँले, 'यो जनताले दिएको मत अनुसार साझा कार्यक्रम बनाएर हामी सरकारमा गएका हौँ। हामी जनताका आवश्यकता पूरा गर्न सरकारमा छौँ। न्यूनतम साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्नेछ।'
संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताउनुभयो।