काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई बेवास्ता गरेको बताउनुभएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताउनुभएको हो ।
उहाँले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताउनुभयो। कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको मैदानमा मात्र थाहा भएको बताउनु भयो ।
उहाँले निर्वाचनको परिणाम आएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तीन जनाले आलोपालो प्रधानमन्त्री हुने कुरा चलेको स्मरण गर्नुभयो। गठबन्धनमा सहमति नभएपछि प्रचण्डले ओलीसँग बसेर छलफल गरौं भनेर प्रस्ताव राखेपनि प्रचण्ड एक्लै बालकोट पुगेको गुनासो गर्नुभयो ।
नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताउदै ओलीलाई सत्ताच्युत गर्न आफूले निर्णायक भूमिका खेलेपनि अहिले ओलीसँग मिलेर प्रचण्डले आफूलाई बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो ।