काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टी जसपालाई पार्टी एकताका लागी औपचारीक पत्र पठाएको छ । पत्र पठाएसँगै बिगत केही समयदेखी शीर्ष नेताबीच चलिरहेको एकता र वार्ता अब औपचारिक रुपमै अगाडि बढेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपालाई पत्र पठाइएको जानकारी दिनुभएको छ ।एकीकृत समाजवादीको गत बिहीबारको सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको थियो।बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदलले जसपालाई पत्र पठाएको अध्यक्ष नेपालले बताउनुभयो ।
जसपासँग विचारमा कति मिल्ने, मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति कति प्रतिबद्ध हुने यी सबैमा विचार र धारणा कति मिल्छन्, त्यसआधारमा अहिलेको राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्ने, त्यो सबै टुंगो गरेर एउटा खाका तयार पार्ने र सहमतिको एउटा निश्चित आधार तयार गर्ने अध्यक्ष नेपालको भनाइ छ।
अध्यक्ष नेपालका अनुसार नेपाल मजदुर किसान पार्टी लगायत सबै पार्टीसँग एकताका लागी कुराकानी र राजनीतिक पहलकदमी अगाडि बढ्दैछ। अध्यक्ष नेपालले राजनीतिक सक्रियता बढाउनका लागि वामशक्तिहरुलाई एकताबद्ध बनाउनुपर्ने भएकोले जसपासँग पनि पार्टी एकता गर्न लागीएको बताउनुभयो ।