काठमाडौं ।कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रमुखको कार्यलयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । कर्णाली प्रदेशमा प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ ।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकर एकजना छन् ।
यता लुम्बिनी प्रदेशमा पनि प्रदेश प्रमुख अमिक शेरचनले २७ पुसको दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ ।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । यहाँ नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना छन् ।
यता बागमती प्रदेशमा पनि सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गतेका लागी आह्वान गर्नुभएको छ । शर्माले २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभउको हो । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।