काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गर्नुभयो।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताउनुभयो । उहाँले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताउनुभयो । देशमा अस्थिरताको शृङ्खला अगाडी बढेको उहाँको दाबी छ ।
वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताउनुभयो। जनताले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको बताउनुभयो । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो । उहाँले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको पनि उल्लेख गर्नुभयो ।