काठमाडौं । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भएपनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदै छ । यस्तै, उपराष्ट्रपतिको पदावधि चैत ९ गते सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले माघ २९ भित्र राष्ट्रपति र फागुन ९ गतेभित्र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देखेको हो ।
यसै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज प्रधानमन्त्रीसँगको छलफलपछि निर्वाचनको तयारी तीब्र पारिएको छ ।
संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार अब राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा ढिलाइ गर्नु हुँदैन । संविधानको मर्म भावना अनुसार समयमै निर्वाचन प्रक्रियाको आरम्भ हुन जरुरी छ ।
आजको छलफलमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित रहनुभएको थियो । बैठकमा आयोगका तर्फबाट प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।