काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतको टोलीले आज बिहान निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरु र पदाधिकारीसँग राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि परामर्श गरेको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्ने विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनु भएको छ ।