काठमाडौं । अंग्रेजी नयाँ वर्षको आज पहिलो दिन । सन् २०२२ मा नेपालमा पनि थुप्रै परिवर्तन भएका छन् । नेपालमा दोस्रोपटक स्थानीय तहको निर्वाचन भयो । मुलुकले नयाँ जनप्रतिनिधिहरु पनि पाएको छ । यसवर्ष न्यायालय पनि विवादरहित हुन सकेन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च जानै नपाएर अवकाश हुनुभयो । जबराकै कारण संसद सचिवालय पनि विवादित बन्न पुग्यो । अभिनेता पल शाह, खेलाडी सन्दीप लामिछाने यौन दुव्र्यवहार र जबरजस्तीकरणीको अभियोगमा कारागारमा छन् । यद्यपि सन्दीपको मुद्धामा बहस जारी छ ।
त्रमशः नेपालमा संघ र प्रदेशको पनि निर्वाचन भएर नयाँ प्रतिनिधिहरुले सपथ लिइसकेका छन् । राजनीतिमा अनपेक्षित सत्तासमीकरण भएको छ । निर्वाचन अगाडि गठबन्धन गरेका दलहरु अहिले छिन्नभिन्न भएका छन् । प्रमुख ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा छन भने नेकपा एमालेसहित माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । यो वर्ष जनताले नयाँ शक्तिहरुलाई रुचाएको बताउँदै राजनीतिक विश्लेषक मुमाराम खनालले सरकार निर्माणको प्रक्रियासम्म आइपुग्दा पनि फरक देखिएको बताउनुभयो ।
विश्वमा २०२२ को सबैभन्दा महत्वपूर्ण घटनाक्रम रुस–युक्रेन द्वन्द्व नै हो । रुसलाई पश्चिमले सुरक्षा प्रत्याभूति नदिने अनि युक्रेनलाई नेटोको सदस्य बनाउने अडान लिएपछि रुसले अस्तित्व जोखिमको अनुभव गरी युक्रेनमाथि आक्रमण गरेको थियो । यस कारवाहीमा एक लाखभन्दा बढी युक्रेनी सैनिकहरूको ज्यान गइसकेको छ भने त्यसभन्दा बढी संख्यामा सैनिकहरू पुनः युद्धभूमिमा फर्किन नसक्ने गरी गम्भीर घाइते भएका छन् । सन् २०२२ मा महाशक्ति राष्ट्र अमेरिका र चीनबीचको तनाव चरमचुलीमा पुगेको छ । महाशक्ति प्रतिस्पर्धालाई औपचारिकता दिँदै अमेरिकाको बाइडन प्रशासनले आफ्नो नयाँ सुरक्षा नीतिमा चीनविरुद्धको प्रतिस्पर्धा जसरी भए पनि जित्ने खुलमखुला घोषणा गरेको छ । अन्तर्राष्ट्रिय मामिलाका विषयमा अध्ययन गरिरहेका डिबी सुनारले अमेरिका, रसिया र चाइनाले शक्तिमा रहनका निम्ति गरिरहेको क्रियाकलापले विश्व अर्थराजनीतिमा नाटकीय परिवर्तन भएको थियो ।
यता, सन् २०२० बाट संसारभरि फैलिएको कोभिड महामारीको प्रकोप सन् २०२२ मा आइपुग्दा निकै कम भएको छ । नेपाल लगायत धेरै मुलुकले बन्दाबन्दी, यात्रा प्रतिबन्ध तथा संक्रमण रोक्ने अन्य उपायहरू खुकुलो बनाइसकेका छन् । चीन र भारतका बीच पनि अशान्ती कायम रह्यो, जसले नेपाललाई ठूलो पार्नसक्ने थियो । यद्यपि यो वर्ष भने जोगिएको छ ।
जलवायु परिवर्तनको प्रकोपले सन् २०२२ लाई आक्रान्त बनायो । अतिवृष्टिका कारण आउने बाढीपहिरोले विभिन्न मुलुकहरूलाई वर्षैभरि सतायो । पाकिस्तानमा पहिला उखुम गर्मीका कारण जीवन कष्टकर भएकोमा पछि अतिवृष्टिका कारण बाढी आएपछि लगभग एकतिहाइ भूभाग डुबानमा परेको थियो ।
सन् २०२२ मा इरानका महिलाहरूले गरेको सरकारविरोधी प्रदर्शनले त्यहाँका शासकहरूलाई अप्ठ्यारोमा पारेको छ । माहसा अमिनी नामक कुर्दिश मूलकी २२ वर्षीया युवतीलाई राजधानी तेहरानमा आफ्नो कपाल हिजाबले राम्ररी नछोपेको आरोपमा त्यहाँको धार्मिक प्रहरीले हिरासतमा लिएपछि उनको त्यहीँ मृत्यु भएको थियो । त्यसको विरोधमा इरानी महिलाहरूले हिजाब फालेर प्रदर्शन गरिरहेका छन् ।
यसवर्ष विश्वकपको उपाधि फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उचालेको छ ।