काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिलेकेहिबेरमा बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने भएको छ ।
तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन । राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ ।
एमालेभित्र राष्ट्रपतिमा सुवास नेम्वाङसहितका नेताहरु आकांक्षी छन्। सभामुखमा छविलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराई मध्येबाट एकजनालाई पठाउने एमालेको तयारी रहेको छ ।
यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ । चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ । पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ ।
यसैबीच हिजो प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार बिस्तार र शक्ति बाँडफाँडबारे छलफल भएको छ ।
दुई अध्यक्षबीच मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँडबारे समेत छलफल भएको दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको जनाएको छ ।
प्रधानमन्त्रीसहित आठजनाको मन्त्रिपरिषद् गठन भए पनि चार जनाको कार्यभार तोकिएको छैन। प्रधानमन्त्री प्रचण्ड र र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि बुधबार भेटवार्ता भएको छ ।