काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरु पुनः एकपटक एकताको प्रयासमा जुटेका छन् । यद्यपि एकता गर्ने वा गठबन्धन मात्रै कायम राख्ने भन्नेमा ठोस निष्कर्ष आइसकेको छैन ।
२०७५ सालमा बनेको नेकपालाई टिकाउन नसकेका एमाले–माओवादी केन्द्रका लागि यो पटकको मिलनपनि सकसपूर्ण छ नै । तर, समग्र कम्युनिष्ट आन्दोलनलाई नै एकीकृत गर्नेगरी दोस्रो पुस्ताका नेताहरु लागेपनि शीर्ष नेतृत्वबीच भेटघाट बढेको छ ।
आज मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छुट्टछुट्टै भेटवार्ता भएको छ । भेटमा आगामी मन्त्रिपरिषद् बैठकको बिस्तार, पार्टी एकता र माधव नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।
एमालेका नेता महेश बस्नेतलगायतको टोली वामएकताको नारासहित मैदानमा उत्रिएका छन् । कम्युनिष्टको समग्र आन्दोलननै धरापमा पर्दै गएकोले एकता प्रक्रिया अघि बढेको बस्नेतको भनाइ छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको श्रृखंला चल्दै आइरहेको छ । आफू अनुकुल हुनेगरी एकीकृत हुने र स्वार्थ बाँझिएपछि फुट्ने श्रृखंलाका कारण वामघटकहरुको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुने गरेको छ । २०७५ सालपछि बनेको केपी ओली नेतृत्व सरकार तीन वर्षमै ढालेर प्रचण्ड, माधव नेपालहरु कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
कांग्रेससँगै गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी, एकीकृत समाजवादीले आफ्नो अस्तित्व जोगाएपनि अहिले पुनः एमालेसँगको साँटगाँठमा जुटेका छन् । यसरी मुलुकको राजनीतिक इतिहासलाई केलाउँदा स्वार्थ अनुकुल सत्तापलट भएको छ । यता राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर गोविन्दमानसिंह कार्कीले माधव नेपालले एमाले माओवादी मध्ये एउटालाई रोज्नुपर्ने बताउनुभयो ।