काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै नेताले आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ।सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो।
थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्नुभएको छ । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका प्रदीप निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुग्नुभएको हो ।
संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थक गर्नुभएको छ । प्रस्तावकमा भने डा शेखर कोइराला रहनुभएको छ ।यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहनुभएको छ ।
यस्तै समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ । मनोनयन दर्ता गर्दै महामन्त्री समेत रहनुभएका कांग्रेस इत्तर पक्षबाट संसदीय दलका उम्मेदवार गगन थापाले सांसदहरुले विवेक पु¥याएर जनभावना अनुसार मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
थापालाई नै समर्थन गर्दै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समग्र मुलुकको हित र पार्टी हितका लागि युवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो।
संसदीय दलको नेतामा आकांक्षी डा. शेखर कोइरालाले पनि गगन थापालाई समर्थन गर्नुभएको छ। कोइरालाले लामो छलफलपछि पार्टीको स्थायित्व र दिगोपनका लागि थापालाई समर्थन गरेको बताउनुभयो ।
पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई थापाको उम्मेदवारी चुनौतिपूर्ण देखिएको छ। समग्र कांग्रेसमा नेतृत्व परिवर्तन र मुलुकको बागडोर यूवाको काँधमा आउनुपर्ने आवाज उठिरहेका बेला गगन थापाको उम्मेदवारीलाई बलियो रुपमा हेरिएको छ ।
यता, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले हालको परिस्थितिसँग जुध्नसक्ने र सबैलाई मिलाएर लैजानसक्ने खुबी देउवामा मात्रै रहेको दाबी गर्नुभयो । लोकतान्त्रिक प्रतिस्पर्धाका आधारमा कांग्रेसले आगामी संसदीय दलको नेता छनोट गर्दैछ । संसदीय दलमा देउवा बलियो उम्मेदवार मानिएपनि संस्थापन इत्तर पक्षका नेताहरु एकजुट देखिएकोले गगन थापा पनि बलियो उम्मेदवार बन्नुभएको छ ।