काठमाडौं । आमनिर्वाचन २०७९ को मतपरिणामलाई हेर्दा एकदलको मात्रै सरकार नबन्ने निश्चित भएसँगै अबको सरकार कस्तो बन्ला भन्ने चौतर्फी चाँसोको विषय बनेको छ । निर्वाचन अगावै देखि गठबन्धन गरेर आएका सत्तासीन दलभित्रै प्रधानमन्त्री, राष्ट्रपतिका आकांक्षी धेरै देखिएकोले अहिलेको सरकारको आकार अझै तय हुन सकेको छैन ।
उता, नेकपा एमाले सरकारका निम्ति बहुमत पु¥याउने स्थितिमा नभएपछि आफूलाई प्रमुख प्रतिपक्षीको रुपमा दाबी गर्दै आएको छ । संविधानतः निर्वाचन आयोगले राष्ट्रपति समक्ष चुनावको अन्तिम नतिजा बुझाएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री चयन भइसक्नुपर्ने हुन्छ । अहिलेको अवस्था हेर्दा नेकपा एमाले पर्ख र हेरको स्थितिमा र नेपाली कांग्रेस सांसदको जोडघटाउमा लागेको देखिन्छ । एमाले नेता खगराज अधिकारीका अनुसार एमाले हाल प्रमुख प्रतिपक्षी दल हो, यदि पाँचदलीय गठबन्धनले सरकार बनाउन नसक्ने परिस्थिति सिर्जना भएमा मात्रै अगाडि सर्नेछ ।
सरकार निर्माणमा चौतर्फी चाँसो बढिरहेका बेला कतिपयले कांग्रेस एमालेको तालमेल हुनुपर्ने आवाज उठाएको पाइन्छ । कांग्रेसबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा स्वयं दाबेदार हुनुहुन्छ । क्रमशः शेखर कोइराला, गगन थापा पनि संसदीय दलको नेता बन्न कसिनुभएको छ ।
यता, बिस्तारै आकार खुम्चिँदै आएको माओवादी आफ्नो नेतृत्वमा सरकार चाहान्छ । विगतदेखि अनुकुल समयको प्रतिक्षामा रहेका माओवादी अध्यक्ष प्रचण्ड थप प्रतिकुलतामा पर्नुभएको छ । सरकार गठनमा निर्णायक बन्न नसक्दा माओवादीले ब्याक हुनुपर्ने स्थिति बनेको छ । कांग्रेसकै नेतृत्वमा पहिलो सरकार बन्ने लगभग निश्ति प्रायः छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पाँचदलीय गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ । पाँचदलीय सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास नभएकोले पनि गठबन्धनले नै सत्तासञ्चालन गर्ने पक्कापक्की छ ।
प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दलले संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । मंसिर ४ गतेको चुनावमा ८९ सिटसहित कांग्रेसले पहिलो स्थान हासिल गरेको छ भने ७८ सिटसहित एमाले दोस्रो पार्टी बनेको छ । अबको सरकार स्थायी बन्नेमा भने शंका कायम रहेको छ । संघीयतामा गएको मुलुकमा पाँचवर्ष नीतिनिर्माणमा समय खर्चिएपनि विकासको फेजमा आउँदा थप संकट निम्तिने खतरा देखिन्छ ।