काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वीकृत गर्न पनि आग्रह गर्नुभएको हो ।
उहाँले विज्ञप्तीमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति भण्डारीलाई विशेष आग्रह गर्नुभएको छ ।
उहाँले विज्ञप्तीमा भन्नुभएको छ, ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ’, विज्ञप्तिमा , ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’ उल्लेख छ ।
यस्तै सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरु र एमालेका कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको पनि विप्लवले बताउनुभएको छ । साथै नेकपाले ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन सबै पक्षसँग आग्रह पनि गरेको छ ।