काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम मतपरिणाम आउनेक्रम जारी छ । हालसम्मको परिणाम अनुसार प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो र समानुपातिक तर्फ एमालेले बढी मत ल्याएको छ । यतिबेला सरकार कसको बन्ने भन्नेमा सर्वत्र चासो देखिएको छ । कुनैपनि दलको एकल बहुमत नपुग्ने भएपछि सत्ताघटक नेपाली कांग्रेसनै सरकार निर्माणको प्रक्रियामा जुटेको छ । कांग्रेससँग मिलेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद जोड्दा सरकार बन्न बहुमत नपुग्ने देखिएको छ । जसका लागि कांग्रेसले अन्य दलको सहारा लिनुपर्ने हुन्छ । कांग्रेस नेतृत्वमै सरकार बन्ने आंकलन भइरहेका बेला गठबन्धनमा जोडिएका दल र स्वयं पार्टीभित्रै प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएपछि सरकार बन्नेस्थिति जटिल बनेको छ । युवा नेतृत्व अगाडि आउनुपर्ने आवाज लिएर निर्वाचनमा होमिएका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ भने लामो समयको अनुभव र यसअघि पनि संसदीय दलको नेतामा प्रतिस्पर्धीका रुपमा अगाडि सर्नुभएका प्रकाशमान सिंह प्रधानमन्त्री पदकै आकांक्षी रहनुभएको छ ।
लामो समय कांग्रेसको राजनीतिमा योगदान दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दौडमा देखिनुभएको छ । उहाँका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले अबको प्रधानमन्त्रीका लागि सहयोग गर्नुहुनेछ ।
कांग्रेस निकटस्थहरुका अनुसार अबको नेतृत्व युवाले गर्नुपर्दछ तर सभापति शेरबहादुर देउवालाई उछिन्न निकै सकस छ । राजनीतिक विश्लेषक शंकर तिवारीका अनुसार अबको नेतृत्व युवाले पाएनन् भने कांग्रेसको भविष्य अन्धकारतर्फ धकेलिनेछ ।
नेकपा एमालेले भने प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको छ । तर एमालेको सरकार बन्नका निम्ति बढी सांसदको आवश्यकता पर्ने देखिन्छ । अहिलेकसम्मको परिवेश हेर्दा एमाले सरकार जाने सम्भावना न्यून रहेको छ ।