काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ ।प्रधानमन्त्री बन्ने तयारीमा रहेनुभएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताउनुभएको हो।
महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको बताउनुभयो। त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा रहेको थापाले बताउनुभयो।
महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बताउनुभयो। मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन दिनुभयो।
महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्याए।