काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) करण गरेको टिप्पणी गर्नुभएको छ ।
त्रिभुज चिन्ह लिएर चुनावी मैदानमा रहेका भुसालले भन्नुभयो, ‘नेकपा एमाले हिजो जुन व्यवस्था विरुद्ध लड्यो, उही व्यवस्था चाहिन्छ भन्ने राप्रपा जस्तो पार्टीसँग चुनावी एकता गरेर ओलीले पार्टीलाई राप्रपाकरण गरे ।’
रुपन्देहीको देवदह नगरपालिकाका विभिन्न वडाहरूमा बुधबार घरदैलो गरिरहेका नेता भुसालले भन्नुभयो, ‘एमालेबाट राप्रपाका मान्छेले टिकट पाउने अवस्था आयो, हामीले जिन्दगीभर बनाएको पार्टीबाट राप्रपाहरुले टिकट पाउनु यहाँभन्दा लज्जास्पद के हुन सक्ला ?’ आफूले टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने भनिएपछि आफूले त्यसो नगरेको उहाँले बताउनुभयो ।
भुसालले भन्नुभयो, ‘दशकौं मेहनत गरेर हामी आफैले बनाएको पार्टीको टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने अवस्था आएपछि मैले त्यसो गर्न सकिन ।’ ओलीको चाकडी गरेको भए आफू मन्त्री पनि भइरहने उहाँको भनाई थियो ।
आफूले दास मनोवृत्ति अंगाल्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएका बेला पाँचदलीय गठबन्धनको समेत साथ पाएर उम्मेदवार बनेको उहाँले चर्चा गर्नुभयो । ओलीले संसद र संविधानमाथि प्रहार गर्दा त्यसको रक्षा गरेकै कारण आफूलाई ओलीले अपमान गरेको भुसालले उल्लेख गर्नुभयो । संविधानको रक्षाको लागि आफू पार्टीभित्र निरन्तर लडेको बताउँदै नेता भुसालले भन्नुभयो– ‘म जनताको बर्खिलाप गर्ने गरी कुनैपनि प्रलोभनमा परिन र टिकटको लागि माफी मागेर सांसद हुन पनि चाहिन ।’
भुसालले नेकपा एमाले ओलीको चंगुलबाट मुक्त हुन सम्भव नभएकाले आफूले पार्टी छोड्न बाध्य भएको तर्क गर्नुभयो । राप्रपाले लिएको राजनीतिक कार्यदिशा अंगालेको एमाले पश्चगमनतर्फ धकेलिएको उहाँको ठहर छ । यसर्थ एमालेभित्र रहेका इमानदार कम्युनिष्ट नेता कार्यकर्ताले राप्रपाको हलो चिन्हमा मतदान नगर्ने उहाँले ठोकुवा गर्नुभयो।
रुपन्देहीको विकासको लागि आफूले लिएका योजनाहरु जनतामा पुर्याएको र जनताको उत्साहजनक प्रतिक्रियाले आफूले निर्वाचन जित्ने आधार तय भएको पनि भुसालले बताउनुभयो ।