काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा बिहीबार (आज) मतपत्र ढुवानी गरिएको छ।
निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरमा दुवै जिल्लाका लागि मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पठाएको हो।
प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र र अन्य निर्वाचन सामग्री नेपाली सेनाको कडा सुरक्षा निगरानीमा ढुवानी गरिएको हो। काठमाडौंबाट मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पुर्याउन आयोगको प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेल र आयोगका शाखा अधिकृत बाबुराम कोइराला मुस्ताङ र मनाङमा पुगेका थिए।
उनीहरूले मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्याललाई मतपत्र, मतदाता परिचयपत्र र अन्य निर्वाचन सामग्री हस्तान्तरण गरेका छन्।
यस्तै मनाङमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा र मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीलाई मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामग्री बुझाएका छन्।
आयोगबाट खटिएका कर्मचारीले पहिला मनाङ र त्यसपछि मुस्ताङमा मतपत्रसहित निर्वाचन सामग्री पठाएको हो। मुस्ताङका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री आयोगका कर्मचारीबाट मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले रुजु गरी बुझेका हुन्। बिहान ९ बजे मनाङ र ११ बजे मुस्ताङमा मतपत्र,मतदाता परिचयपत्र र निर्वाचन सामग्री ढुवानी गरेको थियो।
मुस्ताङमा ३९ मतदान केन्द्र तोकिएको छ। मुस्ताङका पाँच स्थानीय तहको २५ वडामा १० हजार ९५७ जना मतदाता छन्।