काठमाडौं । आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी बलले आफ्ना दुई जना कर्मचारीमाथि विभागीय कारबाही अगाडि बढाएको छ । सशस्त्र प्रहरी बलले आफ्ना २ जना नायव निरीक्षक (सई)लाई निलम्बित गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (असई) गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।
असई सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा बेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याइ कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको जनाइएको छ ।