काठमाडौं । मुलुकमा हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले चुनाव केन्द्रीत घोषणापत्र तथा प्रतिवद्धतापत्र सार्वजनिक गर्ने गर्दछन् । कतिपय दलका घोषणापत्र निकै महत्वकांक्षी पनि हुन्छन् । मुलुकको भूगोल सुहाउँदो र गर्न सकिने कामहरु बाहेक निकै ठूला सपना घोषणापत्रमा बाँडेको पाइन्छ । निर्वाचनमा विजयी भइसकेपछि आफूले सार्वजनिक गरेको घोषणापत्रमा प्रायः उम्मेदवारको ध्यान गएको पाइँदैन । आज नेपाली कांग्रेसले पनि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रारम्भिक घोषणापत्रको मस्यौदा सार्वजनिक गरेको छ । कांग्रेसले आर्थिक क्रियाकलापलाई एकीकृत रुपमा परिचालन गर्ने गरी घोषणापत्रमा समावेश गरेको प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।
कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन समितिबाट पनि पारित भएको छ । कांग्रेसले तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।
घोषणापत्रमा आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र समेटिएको पनि सहमहामन्त्री परियारले बताउनुभयो । घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र समुन्नत नेपाल कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गर्नुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता गोविन्दराज पोखरेलले विगतमा घोषणा गरेका तर लागू नभएका विषयहरुलाई यस घोषणापत्रले समेट्ने बताउनुभयो ।
आगामी निर्वाचनका लागि अन्य दलहरुले पनि घोषणापत्र तयार पारिरहेका छन् । घोषणपत्रमा उल्लेख भएका कुराहरु पाँच वर्षमा कतिको लागू हुन्छन् समीक्षा गर्नु आवश्यक देखिन्छ । मतदाताहरुले पनि निर्वाचनमा होमिएका दलहरुमध्ये कसको योजना विकास र समयमैत्री छ बुझ्न जरुरी हुन्छ । सपना देख्नु राम्रो पक्ष हो तर आफ्नो हैसियत अनुसार सपना देख्नुपर्छ । भनिन्छ घाँटी हेरेर हाड निल्नु नभए घाँटीका अड्किने डर हुन्छ । घरघरमा ग्यास पाइप, रेल, पानी जहाज यी आवश्यक छन् तर जनताको चुल्हो बलेको छ की छैन त्यता ध्यान दिन आवश्यक छ ।