काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ ।
मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।
कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताउनुभएको थियो । तर मनोनयन गर्नुअघि उहाँले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।
स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिनुभएको छ ।
अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिनुभयो ।
मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । एमालेले समर्थन गरेपछि चुनाव जित्नुभएको थियो ।
नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उहाँलाई खेलकुल मन्त्री बनाउनुभएको थियो । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उहाँ दोस्रो पटक खेलकुद मन्त्री बन्नुभयो ।
पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिनुभयो । उहाँको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उहाँ युवा तथा खेलमन्त्री बन्न सफल हुनुभएको थियो । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।