काठमाडौं । आसन्न मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारको आकर्षण बढ्दो देखिएको छ । निर्वाचन आयोगका अनुसार देशैभरी ९ सय ४३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । पछिल्लो समय हरेक राजनीतिक दलमा पुस्तान्तरणको बहस हुने तर व्यवहारत त उहीँ प्रवृत्ति दोहोरिएकोले स्वतन्त्र उम्मेदवारहरु बढेका हुन् । सात दशकको मुलुकको राजनीति हेर्दा उहीँ अनुहार हरेक पटक दोहोरिएका छन् । यसपालीको निर्वाचनमा पनि पाका नेताहरु निर्वाचनमा होमिएका छन् भने यूवा र वयस्क नेता अधिकांशको टिकट खोसिएको छ ।
नेपालको राजनीतिमा नयाँ पुस्ताको आगमन आवश्यक रहेको भन्दै विभिन्न दलहरु दर्ता गरेर र स्वतन्त्रबाट उम्मेदवारी दिएर नयाँ पुस्ता आउन खोजेको छ । विभिन्न दलका नेताहरुले एकपटक गरेको त्यागलाई हरेक पटक ब्याज असुल्ने प्रवृत्तिको अन्त्य गर्न नयाँ पुस्ता निर्वाचनमा होमिएको देखिन्छ । लामो समय सत्याग्रह आन्दोलन, बेतिथि र अन्यायकाविरुद्ध जुटेका उम्मेदवार पुकार बम पाका नेताहरुले विश्राम लिनुपर्ने सुझाव दिनुहुन्छ ।
पाका नेताहरु औषधिको भरमा हिडिरहेको बताउँदै बमले उहाँहरुको हेरचाह र संरक्षणकै लागि राज्यले थप जनशक्ति परिचालन गर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्नुपर्ने बताउनुभयो । पटक–पटक राज्यको बागडोर सम्हालेकाहरुले अब अनुभव लिन केही बाँकी नरहेको उहाँको दाबी छ ।
स्थानीय तहको निर्वाचनले स्वतन्त्र उम्मेदवारमा थप हौसला प्रदान गरेको छ । काठमाडौं, धरान, धनगढीलगायतका स्थानमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेसँगै सधैँको एउटै अनुहारप्रति जनताको वितिष्णा बढेको आंकलन गर्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रवि लामिछाने पनि नेता जनताको मन, मुटुमा बसेको हुनुपर्ने बताउनुहुन्छ ।
मुलुकको राजनीतिले परिवर्तन खोजेको भान अवश्य भएको छ । व्यवस्था परिवर्तन भयो, विभिन्न बाहानामा राजनीति गरिरहेकाहरुको अवस्था परिवर्तन भयो तर जनताको पीडा ज्यूका त्यूँ रहेको छ । समृद्ध मुलुक निर्माणका लागि एकपटक नयाँ अनुहार जनताले पक्कै खोजेका छन् ।