काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेल गर्दा जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १५ सिट बढी पाएको छ ।
जसपा र एमालेबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल भएको हो । जसमा एमालेले ३५ र जसपाले १७ सिट तालमेल पाएको छ ।
यस्तै, प्रदेशसभातर्फ १ सय १२ सिटमा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । त्यसमा एमालेको भागमा ७० र जसपाको भाग ४२ सिट परेको छ । तालमेल नभएका निर्वाचन क्षेत्रमा दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
कांग्रेसका नेताहरुका अनुसार जसपालाई सत्ता गठबन्धनमा पनि प्रतिनिधिसभातर्फ १६ सिट दिइएको थियो ।
अहिले एमालेसँग गरिएको तालमेलमा जसपाले पाएको सिट गठबन्धनमा पनि पाउने गरी छलफल भइरहेको थियो । तर जसपाबाट नेता रकम चेम्जोङ भने सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ १३ सिट मात्र दिएपछि एमालेसँग तालमेल गर्नु परिस्थिति बनेको बताउँछन् ।
चेम्जोङका अनुसार कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालले जसपालाई मधेस प्रदेशमा ११, प्रदेश १ र बागमतीमा १–१ सिट दिने प्रस्ताव गरेका थिए । यस्तै प्रदेशतर्फ पनि जसपालाई २७ सिटको प्रस्ताव आएको थियो ।