काठमाडौं । नेपाली कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयनका लागि दुईवटा मापदण्ड बनाएको छ ।
पहिलो मापदण्ड अनुसार उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावनालाई आधार मानिने छ ।
दोस्रो मापदण्ड अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवार नबनाउने निर्णय भएको छ ।महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको प्रस्तावलाई बैठकले पारित गरेको हो ।
विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ ।
साथै कांग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवश निष्क्रिय बसेका सदस्यहरूलाई पार्टीमा पूर्ववत् रुपमा सक्रिय हुन आह्वान समेत गरेको छ ।
उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बोलाइएको छ ।