काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै आज १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो ।
पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरू धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारी सभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।
उनीहरूले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेका छन् ।
प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ । नेता कोइरालासहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरू भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।
समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने उनीहरूको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिनुभएको छ ।
हिजो बसेको पदाधिकारी बैठकमा देउवाले सबैलाई समेटेर जान आफू तयार रहेको भन्दै बन्द सूची सच्याउन सकिने बताउनुभएको थियो । यसका लागि आज बिहान पनि पदाधिकारीको बैठक बसेको थियो ।