काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको बताउनु भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निमार्ण एवम् परिसर सुधार कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लोकतन्त्रलाई अगाडि बढाउनका लागि जनताको प्रतिनिधिबाट निर्मित संविधानको सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताउनु भएको हो । उहाँले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई आग्रह गर्नुभयो।
दुई दुई पटक संसद विघटन भएपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्रयाकमा आएको यादवको भनाई छ ।
तर, एक पटक फेरि संविधानको उलंघन भएकाले सबै नेपाली सजग रहन पूर्वराष्ट्रपति डा. यादवले आगह गर्नुभयो ।