काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज साँझ ८५ वर्षको उमेरमा निधन भएको छ ।
मुखर्जीको निधनपछि उनका छोरा अभिजित मुखर्जीले ट्वीट गरेका छन् । जसलाई अधिकांश अन्तर्राष्ट्रिय मिडियाहरुले पछ्याएका छन् ।
पूर्वसांसद समेत रहेका अभिजितले आफ्ना पितालाई बचाउन चिकित्सकहरुले हरसम्भव प्रयास गरेको बताएका छन् । त्यसप्रति उनले आभारीसमेत प्रकट गरेका छन् ।
अभिजितले पिताको निधनको खबर सुनाउनुपर्दा आफ्नो हृदय भारी भएको पनि बताएका छन् ।
‘मेरा पिता प्रणव मुखर्जी अब हामीबीच रहनुभएन । यो कुरा म भारी हृदयका साथ तपाईँहरुलाई जानकारी गराउन बाध्य छु’, उनले लेखेका छन्, ‘मेरो पितालाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक, स्वास्थ्यकर्मी र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सबै सुभेच्छुक तथा इष्टमित्रप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
कोरोना भाइरस पुष्टि भएका मुखर्जी झण्डै एक महिना अघिदेखि आर्मी अस्पतालमा उपचार गराइरहेका थिए । उनलाई बचाउन हरसम्भव प्रयास गरेको तर सम्भव हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।
चिकित्सकहरुका अनुसार मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने कहिले स्थीर हुने भइरहेको थियो ।
मुखर्जी भारतका १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेतासमेत रहेका मुखर्जी त्यसअघि अर्थमन्त्रीसमेत भएका थिए । उनी शिक्षक, पत्रकार र अर्थविद् पनि थिए ।
उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै वेला सन् २०१५ मा निधन भएको हो ।
